News फ्रेण्डससँगको हारले रेलिगेशनमा च्यासल
गोलनेपाल

काठमाडौं । लिग शुरु हुनु अघि केही चर्चित अनुहारहरुलाई अनुवन्ध गरेर हौसिएको च्यासल युथ क्लब यस सिजन बी डिभिजनमा घटुवा हुने पहिलो टोली बनेको छ ।

शनिबार दशरथ रंगशालामा भएको १२औं चरणको महत्वपूर्ण खेलमा फ्रेण्डस क्लबसँग २–१ ले पराजित भएपछि च्यासलको रेलिगेशन पक्का भएको हो ।

फ्रेण्डसले पहिलो हाफ मै गरेको दुई गोल टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो । फ्रेण्डसका लागि दुवै गोल खेलको ३८ र ४३औं मिनटमा जमुल एन्थोनीले गरे । उनले दोस्रो गोल पेनाल्टीबाट गरेका थिए ।

उता दोस्रो हाफको ५६औं मिनटमा मुसा अबागानाले च्यासलका लागि एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो नतिजापछि १२ खेलबाट ६ अंक मात्र जोडेको च्यासल पुछारमा र रेलिगेशनमा परेको छ । त्यस्तै १२ खेलबाट १० अंक जोडेको फ्रेण्डस १२औं स्थानमा छ । फ्रेण्डस भन्दा एक स्थान तल रहेको बीबीसीको ७ अंक छ र उसले एक खेल कम खेलेको छ ।

Post Comments