News वडा नं. ६ लाई शिवपुरी वडाकपको उपाधि
गोलनेपाल

शिवपुरी । शिवपुरी गाउँपालिका वडा नंं ६ ले प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शेराबगर विकास समाजले शिवपुरी गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ६ ले वडा नं. ५ लाई १–० ले पराजित गरेको हो ।

वडा नं. ६ का लागि एक मात्र विजयी गोल अशोक तामाङले गरेका थिए । हारसँगै वडा नं. ५ ले दोस्रो स्थानमा चित्त बुझायो । शिवपुरी रंगशाला सुनखानीमा भएको नाइन ए साइड फुटबलको तेस्रो स्थान भने वडा नं. ३ ले प्राप्त गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी तथा शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले विजयी टिम तथा खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

विजेता टोली वडा नं. ६ ले नगद पुरस्कार १ लाख, दोस्रो हुने वडा नं. ५ ले ५० हजार तथा तेस्रो हुने वडा नं. ३ ले २५ हजार नगद पुरस्कार पाएका छन् ।

त्यस्तै वडा नं. ६ का गोलकिपर अमृत जिसी उत्कृष्ट गोलकिपर, वडा नं. ५ का अलिक रुम्बा उत्कृष्ट डिफेन्डर, वडा नं. ३ का सञ्जिव तामाङ उत्कृष्ट मिडफिल्डर, वडा नं. ५ का कुन्जन खड्का उत्कृष्ट फरवार्ड तथा वडा नं. ६ का अनिश जिसी उच्च गोलकर्ता घोषित भए । उनीहरुले जनही नगद ३ हजार पुरस्कार र ट्रफी पाए ।

त्यस्तै वडा नं. ६ का खेलाडी आलिग तामाङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले नगद ७ हजार र ट्रफी प्राप्त गरे ।

कार्यक्रममा बोल्दै शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले शिवपुरीको शानको रुपमा रहेको शिवपुरी रंगशालामा फुटबल प्रतियोगितामा सञ्चालन हुने क्रम बढेको भन्दै आगामी दिनमा अन्य प्रतियोगिता पनि आयोजना हुने बताए ।

शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले सबै विजयी खेलाडीहरुलाई बधाई दिँदै खेलकुदको क्षेत्रमा शिवपुरी गाउँपालिका अब्बल रहेको बताइन् ।

फुटबल प्रतियोगिता आयोजक संस्था श्री शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले शिवपुरी गाउँपालिकामा रहेका खेलाडीहरु पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले आगामी संस्करणमा अहिलेका कमजोरी नदोहोरिने प्रतिवद्धता जनाए ।

समापन कार्यक्रममा नेकपा एमाले शिवपुरी गाउँ संगठन कमिटीका अध्यक्ष विष्णु श्रेष्ठ, नेकपा माओवादी केन्द्रका शिवपुरी गाउँ संगठन कमिटीका अध्यक्ष मिन बहादुर तामाङ, वडा नं. ५ का वडा अध्यक्ष सिताराम थापा, वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर तामाङले विजयी खेलाडीहरुलाई बधाई दिए ।

फागुन १३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा शिवपुरी गाउँपालिकाका ७ वटा वडाले भाग लिएका थिए ।

Post Comments