News वार्ड नम्बर १० लाई चौथो मेयर कपको उपाधि
गोलनेपाल

दुहबी । यहाँ सम्पन्न चौथो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर १० ले जितेको छ । फाइनलमा वार्ड नम्बर ४ लाई शून्यका विरुद्ध २ गोलले हराउँद्रै वार्ड नम्बर १० विजेता बनेको हो ।

श्री सरस्वती माविको खेलमैदानमा भएको फाइनल भिडन्तमा वार्ड नम्बरका लागि कुन्दन चौधरी नायक रहे । उनले खेलको ६३ र ८४औं मिनटमा दुई गोल गर्दै टोलीलाई विजेता बनाउन निर्णायक भूमिका खेले ।

विजेता बनेको वार्ड नम्बर १० ले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता वार्ड नम्बर ४ ले ५१ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक वार्ड नम्बर १० कै मुकेश चौधरी घोषित भए भने उत्कृष्ट डिफेन्डर वार्ड नम्बर १० कै हेमन्त खाँ चुनिए । उत्कृष्ट मिडफिल्डर वार्ड नम्बर ४ का बिक्रम राजवंशी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार वार्ड नम्बर १० र ६ का क्रमशः कुन्दन चौधरी र मनिष बिकले हात पारे ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक वार्ड नम्बर १० का देव चरण बहदार घोषित भए भने उत्कृष्ट टिम व्यवस्थापक वार्ड नम्बर १० कै बिमल थन्दार चुनिए । सबैले जनही नगद ५–५ हजार र ट्रफी हात पारे ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वार्ड नम्बर १० कै कबिन्द्र चौधरी घोषित भए । त्यसवापत उनले नगद ७ हजार र ट्रफी हात पारे । सबै खेलाडीहरुलाई प्रमुख अतिथी पूर्व उपप्रधानमन्त्री विच्छदार लगायत अन्य अतिथीहरुले पुरस्कृत गरे ।

दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा भएको प्रतियोगितामा दुहबी नगरपालिकाका कुल १२ वार्ड टिमहरुले सहभागिता जनाएका थिए ।

Post Comments