News शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

धनगढी । हिमालयन शेर्पा क्लब यहाँ जारी पाँचौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा शेर्पाले आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको ३४औं मिनटमा पिस्टन मुटम्बाको गोलबाट अग्रता लिएको शेर्पाका लागि दोस्रो हाफको ५५औं मिनटमा सुरेश कुमालले दोस्रो गोल थपेका थिए । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो ।

उता खेलको ६७औं मिनटमा शेर्पाले आत्मघाती गोल खान पुग्यो । यद्यपि त्यो गोल शेर्पाको जितमा बाधक बन्न सकेन । खेलमा शेर्पाका सुरेश कुमाल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन २४ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल बागमती युवा क्लब र लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम–११, स्पोर्टस् क्लब, धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments