News खप्तड गोल्डकपको फाइनलमा मनाङ
गोलनेपाल

धनगढी । उपाधिको दावेदार मध्ये एक मानिएको मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी पाँचौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा मनाङले हिमालयन शेर्पा क्लबको चुनौति टाईब्रेकरमा ४–२ ले पन्छाउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि धनगढी रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलको २८औं मिनटमा शिशिर लेखीको गोलबाट अग्रता बनाएको मनाङले त्यसलाई दोस्रो हाफको अन्तिमतिर गुमाउन पुग्यो । खेलको ८०औं मिनटमा सुरेश कुमालले शेर्पाका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने मनाङले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा मनाङका गोलकर्ता शिशिर लेखी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फागुन २६ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल बागमती युवा क्लब र फ्रेण्डस क्लबबीच हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments