News शानदार जितका साथ नव युवा फाइनलमा
सुरज राना मगर

नर्सही । उत्कृष्ट जित हात पार्दै नव युवा क्लब, सुर्यनगर यहाँ जारी दोस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा गौतम बुद्ध सिद्धार्थ क्लब, बर्दघाटलाई ५–१ को फराकिलो अन्तरले हराउँदै नव युवा उपाधि नजिक पुगेको हो ।

सुस्ता–४ नर्सही स्थित स्थानीय खेलमैदानमा भएको खेलमा शुरुवाती अग्रता भने गौतम बुद्धले लिएको थियो । खेलको चौथो मिनट मै महेश आले मगरको गोलबाट अग्रता बनाएको गौतम बुद्धले त्यसलाई पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो ।

दोस्रो हाफमा नव युवाले उत्कृष्ट पूनःरागमन गर्यो । ४९औं मिनटमा आशिष जिसीले नव युवाका लागि बराबरी गोल फर्काए । ६४औं मिनटमा बिजय सारुले दोस्रो गोल थपे । दोस्रो हाफमा निरन्तर आक्रमक बनेको नव युवाका लागि लगतै ६९औं मिनटमा सन्दिप चौधरीले तेस्रो गोल गरे ।

७५औं मिनटमा मौसम रानाले चौथो गोल थप्दा ८४औं मिनटमा सन्दिप चौधरीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै नव युवाको शानदार जित र फाइनल यात्रा पक्का गरेका थिए । खेलमा नव युवाका सन्दिप चौधरीले नै म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन २६ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल राइजिङ स्टार, भूमही र अभिषेक चर्च रजहर बीच हुने प्रतियोगिता संयोजक धिरज गुरुङले जानकारी दिए ।

सुस्ता गाउँपालिका, नवलपरासीको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लब, सुस्ता–४ नर्सहीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments