News अभिषेक चर्च सुस्ता अध्यक्ष कपको फाइनलमा
सुरज राना मगर

नर्सही । रोमाञ्चक जितका साथ अभिषेक चर्च, रजहर यहाँ जारी दोस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा अभिषेक चर्चले राइजिङ स्टार, भूमहीमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

सुस्ता गाउँपालिका–४ नर्सही स्थित स्थानीय खेलमैदानमा भएको सेमिफाइनल भिडन्तमा अभिषक चर्चले पहिलो हाफ मै गरेको तीन गोल जितका लागि प्रर्याप्त बन्यो । खेलको २७औं मिनटमा मन बहादुर पाटा मगरको गोलबाट अभिषेक चर्चले खेलमा अग्रता बनाएको थियो ।

लगतै ३१ र ३६औं मिनटमाअफ्रिकी खेलाडीद्वय डिएगो जे र अब्दुलाले गोल गर्दै टोलीलाई पहिलो हाफ मै ३–० को स्थितिमा पुर्याए । जुन अग्रता अभिषेक चर्चलाई फाइनलमा पुर्याउन अहम बन्यो ।

उता दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको राइजिङ स्टारका लागि ६० र ८४औं मिनटमा बिनोद केवटले दुई गोल गरे तापनि टोलीको हार भने टार्न सकेनन् । खेलमा अभिषेक चर्चका डिएगो जे म्यान अफ द म्याच चुनिए ।

अब फाइनल खेल फागुन २८ गते शनिबारका दिन अभिषेक चर्च, रजहर र नव युवा क्लब, सुर्यनगरबीच हुने खेल संयोजक धिरज गुरुङले जानकारी दिए ।

सुस्ता गाउँपालिका, नवलपरासीको आयोजना तथा जरलैया युवा क्लब र एकता युवा क्लब, नर्सही, सुस्ताको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

 

Post Comments