News धनगढीमा मनाङ च्याम्पियन, शिशिर सर्वोत्कृष्ट
गोलनेपाल

धनगढी । पाँचौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।

शनिबार भएको फाइनल भिडन्तमा मनाङले फ्रेण्डस क्लबमाथि ३–१ को प्रभावशाली जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । धनगढी रंगशालामा भएको खेलको १९औं मिनटमा फ्रेण्डसले पेनाल्टी अवसर गुमाउन पुग्यो ।

जमुल एन्थोनीको पेनाल्टी प्रहार मनाङका गोलरक्षक बिशाल सुनारले जोगाउँदै टोलीलाई खेलमा पछि पर्नबाट जोगाएका थिए । त्यसको तीन मिनट लगतै दिनेश राजवंशीले मनाङका लागि पहिलो गोल गरे ।

यद्यपि ५१औं मिनटमा जमुल एन्थोनीले नै फ्रेण्डसका लागि बराबरी गोल फर्काए । त्यस्तै ७२औं मिनटमा आफिज ओलावालेले मनाङका लागि दोस्रो गोल थपे भने खेलको अन्तिमतिर मुसा अबागानाले तेस्रो गोल थप्दै मनाङको जित पक्का गरे ।

खेलको अन्तिमतिर मनाङका रुपेश केसी र फ्रेण्डसका श्याम बाबु श्रेष्ठले रातो कार्ड खाँदै मेदान छाड्दा दुवै टोली दश खेलाडीमा सिमित बनेको थियो । यद्यपि मनाङले नतिजा भने आफ्नो पक्षमा पार्न सफल भयो ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लब, धनगढीको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता मनाङले उपाधिसहित नगद २१ लाख हात पार्यो भने उपविजेता फ्रेण्डसले १० लाखमा चित्त बुझायो ।

मनाङका शिशिर सर्वोत्कृष्ट

त्यस्तै व्यक्तिगत विधातर्फ मनाङका शिशिर लेखी सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत नगद १ लाख र ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक मनाङका बिशाल सुनार बन्दा उत्कृष्ट डिफेन्डर फ्रेण्डसका सुरज बिक बने ।

उत्कृष्ट मिडफिल्डर मनाङका मुसा अबागाना घोषित हुँदा सुदुरपश्चिम–११ का फागुराम चौधरी उदियमान खेलाडी चुनिए । उत्कृष्ट प्रशिक्षक मनाङ कै राजेन्द्र तामाङ घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने फ्रेण्डसका जमुल एन्थोनीले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २०–२० हजार हात पारे ।

 

Post Comments