News सहज जितका साथ क्वाटरफाइनलमा पुलिस
रमेश समदर्शी

सर्लाही यहाँ जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लबले गोलको वर्षा गरेको छ । प्रतिद्वन्द्वी सिमराको नव जनज्योति युवा क्लबलाई ५-० गोलले पराजित गर्दै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

पुलिसका लागि रवि शंकर पासवानले २ र निरकुमार राई, सौजन राई र बुद्ध बल तामाङले समान १-१ गोल गरे । खेलको सुरुवातदेखि नै दबाबमा राखेको पुलिसले पहिलो हाफमा २ गोल गरेको हो भने पुलिसको नाममा गोल संख्या ५ रह्यो । 

खेलको २१औँ मिनेटमै पुलिसका लागि सौजन राईले गोल गरेर सुरुवाती अग्रता दिलाए । त्यस्तै, रविले खेलको २९औँ मिनेटमा गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए भने ५८औँ मिनेटमा थप गोल गरेर व्यक्तिगत दुई गोल गरे । 

पुलिसका लागि दोस्रो हाफको सुरुमै गोल गरेर निरकुमार राईले टिमको गोलअन्तर ३ ० मा पुराएका थिए । बुद्धबलले टिमका लागि पाँचौ गोल खेलको ७२औँ मिनेटमा गरेर ५-० गोलको फराकिलो अन्तर निकाले । 

खेलको म्यान अफ दी म्याच रवि शंकर पासवान घोषित भए । उनले नगद १० हजार पाए । भोलि (शुक्रबार)को खेल एनआरटीविरुद्ध भरतपुर एफसीबीच हुनेछ । 

बाग्मती युवा क्लब र बाग्मती नगरपालिका सर्लाहीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाखभन्दा बढी पुरस्कार पाउने छ । उपविजेताले नगद ५ लाखमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments