News सडन डेथमा मच्छिन्द्रलाई सफलता
रमेश समदर्शी

बागमती । लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब यहाँ जारी छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम क्वाटरफाइनलमा मच्छिन्द्रले क्यामरुनी टोली एभनिर एफसीलाई सडन डेथमा ६–५ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि स्व.सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा पनि नतिजा ननिस्किएपछि सडन डेथमा मच्छिन्द्र सफल बनेको हो । खेलमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत १० गते बिहीबारको पहिलो सेमिफाइनल खेल आयोजक बागमती युवा क्लब र साविक विजेता पिप्ले युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत १३ गतेका दिन हुनेछ ।

Post Comments