News साहुखलको 'शतकीय पारी'ले जोगियो च्यासल
गोलनेपाल

काठमाडौं । सन्तोष साहुखलले ए डिभिजन लिगमा १०० गोलको आँकडा छुने पहिलो खेलाडी बन्दा कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको बराबरी ओझेलमा परेको छ । र, सम्भावित हारबाट समेत जोगिएको छ ।

दशरथ रंगशालामा भएको पाँचौं चरणको खेलतर्फ बुधबार च्यासलले विभागीय टोली नेपाल पुलिससँग २–२ गोलको बराबरी खेल्यो । रोमाञ्चक बराबरीमा च्यासलका लागि दुवै गोल साहुखलले गरे ।

यद्यपि खेलमा अग्रता भने पुलिसले पाँचौं मिनटमा निर कुमार राईको गोलबाट लिएको थियो । तर, १७औं मिनटमा सन्तोष साहुखलले च्यासलका लागि बराबरी गोल फर्काए ।

त्यो गोलसँगै नेपालको घरेलु लिगमा सय गोल गर्ने उनी पहिलो खेलाडी बने । यद्यपि खेलको ४१औं मिनटमा सुमन लामाले फेरि पुलिसलाई खेलमा अग्रता दिलाए ।

तर, फेरि पनि पुलिसका लागि साहुखल नै बाधक भईदिए । ५०औं मिनटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै च्यासलको सम्भावित हार टारे भने टोलीका लागि निर्णायक भूमिका पनि खेले ।

यो बराबरी नतिजापछि पाँच खेलबाट च्यासलको पाँच अंक भएको छ । जारी लिगमा च्यासलको यो दोस्रो बराबरी पनि हो । उता पुलिसको भने ८ अंक छ ।

Post Comments