News एनआरटी सिमरा गोल्डकपको फाइनलमा
गोलनेपाल

सिमरा । न्युरोडटिम (एनआरटी) जारी १२औं जितपुर सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लबलाई ३–२ ले हराउँदै एनआरटी उपाधि नजिक पुगेको हो ।

खेलको ३१औं मिनटमा स्टेफन समिरको गोलबाट एनआरटीले खेलमा अग्रता लिएको थियो । टोलीले त्यो अग्रता पहिलो हाफसम्म मात्र जोगाउन सक्यो । ६५औं मिनटमा आयुष घलानले आयोजकका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

तर घरेलु टोलीले अन्तिमतिर पाँच मिनटभित्र दुई गोल खान पुग्यो । ८५औं मिनटमा मेसुके ओलुमुले एनआरटीका लागि दोस्रो गोल थपे भने त्यसको दुई मिनट लगतै स्टेफन समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता खेलको अन्तिमतिर आयोजकका लागि एलन थापाले एक गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।

त्यस्तै खेलको अन्तिमतिरै आयोजक टोली दश खेलाडीमा समेत सिमित बनेको थियो । आयोजकका डोना थापाले रातो कार्ड खाँदै मैदान छाड्दा नव जनजागृति दश खेलाडीमा खुम्चिन बाध्य भएको थियो ।

खेलमा एनआरटीका स्टेफन समिर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १७ गतेको दोस्रो सेमिफाइनल खेल एपिएफ र बागमती युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

नव जनजागृति युवा क्लब, सिमरा बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments