News बि.वाई.सी. महिला गोल्डकपमा पुलिसको विजयी शुरुवात
गोलनेपाल

धनगढी । शनिबारदेखि शुरु प्रथम मुख्यमन्त्री बि.वाई.सी. महिला गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिसले क्लबले विजयी शुरुवात गरेको छ ।

धनगढी रंगशालामा भएको उद्घाटन खेलमा पुलिसले चन्द्रपुर नगरपालिका, रौतहटलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । पुलिसको जितमा दोस्रो हाफको ५९औं मिनटमा रेखा पौडेलले गरेको एक मात्र निर्णायक गोल बन्यो ।

यो जितसँगै पुलिस सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत बैशाख ४ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र बागमती युवा क्लब, सर्लाही बीच हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम खेलकुद परिषद्को प्रवद्र्धन तथा वनदेवी युवा क्लब, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।

कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यहि वैशाख १० गतेका दिन हुनेछ । त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी मूख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए ।

Post Comments