News राष्ट्रिय महिला फुटबल खेलाडीहरु गृहजिल्लामा सम्मानित (फोटो फिचर)
गोलनेपाल

रौतहट । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक विजेता नेपाली महिला फुटबल टोलीका ५ जना खेलाडीहरुलाई उनीहरुको गृहजिल्ला रौतहटमा सम्मानित गरिएको छ ।

नेपाली महिला फुटबल टोलीमा रहेर फुुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको साथी शिक्षा सहकारी संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभाको अवसरमा उनीहरुलाई सम्मानित गरेको हो ।

 

सम्मानित हुने खेलाडीहरुमा रेनुका नगरकोटी, अनिता केसी, मन्जली कुमारी योन्जन, अन्जना राना मगर तथा पुन जर्गा मगर रहेका छन् । सम्मानित पाँचै खेलाडीहरु चन्द्रपुर नगरपालिका निवासी हुन् । खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विकास तथा प्राविधिक समितिका सभापति कल्याणी खड्का एवम् संस्थाका अध्यक्ष रामकुमार भट्टराईले सम्मान–पत्र, दौसल्ला तथा नगदले सम्मानित गरेका थिए ।

कार्यक्रममा बोल्दै सम्मानित खेलाडी रेनुका नगरकोटीले गृहजिल्लामा सम्मानित हुने अवसर पाउँदा निकै खुसी लागेको बताइन् । आफ्नो जिल्लाले गर्ने सम्मान सदैव विशेष हुने धारणा समेत व्यक्त गरेकी थिईन् । आफुहरुले यसअघि गृहजिल्लामा कुनैपनि सम्मान नपाएको स्मरण गर्दै उनले पहिलो पटक जिल्लामै सम्मानित हुन पाउँदा थप उर्जा मिलेको बताइन् ।

अखिल नेपाल फुटबल संघ प्रदेश नम्बर २ लिग संयोजक नेपाल कार्कीले रौतहट जिल्ला फुटबल संघले पहिलेदेखि हालसम्म निरन्तर रुपमा महिला फुटबल खेलाडी उत्पादन गर्न योगदान गरिरहेको बताउँदै आगामी दिनमा यसलाई थप विकास र विस्तार गर्न ३ वटै तहको सरकारले पहल गर्नुपर्ने बताए ।

रौतहट जिल्लामा जन्मिएर खेलकुदको माध्यमद्धारा देशको नाम उच्च गरेको र सागमा रजत पदक जित्न सफल भएकाले उनीहरुको योगदानको कदर गर्न सम्मानित गरिएको संस्थाका महासचिव दिपककुमार रेग्मीले बताए ।

विकास तथा प्राविधिक समितिका सभापति कल्याणी खड्काले वर्तमान सरकारले खेलकुदको विकासमा निरन्तर लागिपरेको भन्दै देशको नाम उच्च पार्ने हरेक खेलाडीलाई राष्ट्रले पनि उच्च कदर गर्नुपर्ने बताइन् ।

साथै उनले रौतहट जिल्ला सदैव महिला फुटबलको उर्भर भूमिको रुपमा चिनिदैँ आएको र यस जिल्लाबाट फुटबल सिकेका महिला खेलाडीहरु विभिन्न विभागिय क्लव र राष्ट्रिय टोलीमा राम्रो स्थान बनाउन सफल भएकोमा खुसी व्यक्त गरिन् ।

Post Comments