News फोर ब्रदर्श कप शुरु, सनराईजको शानदार शुरुवात
सुरज राना मगर

सरावल । फोर ब्रदर्श एफसी, नवलपरासीको आयोजनामा शुरु प्रथम फोर ब्रदर्श कप नाईन ए साईड खुला फुटबल प्रतियोगितामा सनराईज एफसीले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

सरावल गाउँपालिका–२, मगरमुढा स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा सनराईजले सुनवल–८ माथि ३–० को शानदार जित हात पारेको हो । सनराईजको जितमा बिनोद केवटले २ गोल गरे भने थप एक गोल प्रवेश पंगेनीले गरे ।

खेलमा म्यान अफ द म्याच भने सनराईज कै गोलरक्षक माधव तिवारी घोषित भए । कुल ३२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने प्रचार प्रसार संयोजक खेम थारुले बताए ।

गाउँघर मै रहेका प्रतिभावान खेलाडीहरुलाई फुटबलमा अवसर प्रदान गर्न आफूहरुले प्रतियोगिता आयोजना गरेको खेल संयोजक नारदमुनि चौधरीले बताए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी राप्रपाका केन्द्रिय उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुव बहादुर प्रधानले गरेका थिए ।

युवा व्यवसायी तथा खेलकुद अभियन्ता धर्मेन्द्र अग्रहरीको कार्यक्रम सञ्चालनमा तथा क्लबका सचिव नरेश चौधरीको स्वागत मन्तव्य भएको उद्घाटन कार्यक्रममा नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धन प्रसाद गुरुङ लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।

Post Comments