
नवलपुर । मोफसलको फुटबलमा निरन्तर सक्रिय रहेर सहभागिता जनाउँदै आइरहेको अभिषेक चर्च, देवचुली, नवलपुरको आयोजनामा यहि भाद्र १२ गतेदेखि अभिषेक चर्च कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
नवलपुर–१६, देवचुली स्थित रजहर खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजक क्लबका अध्यक्ष शुकलाल तामाङले बताए । खेलाडीहरुलाई फुटबलमा थप प्रोत्साहित गर्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष तामाङले बताए ।
सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि. को मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई पनि नगद, ट्रफीका साथ पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष तामाङले जानकारी दिए ।