News फिफाद्वारा भारतीय फुटबलमाथि लगाएको निलम्बन फुकुवा
गोलनेपाल

काठमाडौं । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) माथि फिफाले लगाएको निलम्बन फुकुवा भएको छ । फिफाले भारतीय फुटबलको सर्वोच्च निकायमा फेरि सामान्य अवस्था र सुधार देखिएपछि तत्काल प्रभावका बीच निलम्बन फुकुवा गरेको हो ।

स्मरण रहोस, फिफाले यसअघि भारतको स्वतन्त्रता दिवस अर्थात १५ अगस्तका दिन कुनै पनि अन्तर्राष्ट्रिय फुटबल गतिविधीमा सहभागिता जनाउन नपाउने गरि भारतीय फुटबल फेडरेशनलाई निलम्बन गरेको थियो । निलम्बन फुकुवाका लागि भारतीय पक्षबाट तत्काल आवश्यक कदम र पहल गरेपछि सो फुकुवा सम्भव भएको धेरैको ठम्याई छ ।

यो फुकुवा भएसँगै भारतलाई अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता र अन्य फुटबल गतिविधीका लागि बाटो पनि खुला भएको छ । भारतले अक्टुबरमा फिफा यु–१७ फिफा विश्वकपको आयोजना गर्दैछ । त्यस्तै आगामी वर्ष हुने प्रतिष्ठित एएफसी एसियन कपमा पनि भारतले सहभागिता जनाउँदैछ ।

त्यति मात्र नभएर नेपालमा अर्को सातादेखि शुरु हुुने साफ महिला च्याम्पियनसिपमा पनि भारतको सहभागिता तय भएको छ । स्मरणीय छ, भारत साफ महिला च्याम्पियनसिपको साविक विजेता समेत हो ।

त्यस्तै यो निलम्बन फुकुवासँगै भारतीय क्लबले फिफा र एएफसी मातहत हुने अन्तर्राष्ट्रिय क्लबस्तरीय फुटबल प्रतियोगितामा पनि सहभागिता जनाउने निश्चित भएको छ ।

 

Post Comments