News चितवन गोल्डकप शुरु, उद्घाटन खेलमै आयोजक केबिए ग्लोबल भरतपुरको गोल वर्षा
गोलनेपाल

चितवन । शनिबारदेखि शुरु इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आयोजक केबिए ग्लोबल भरतपुर एफसीले फराकिलो जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

क्याम्पाचौर खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक भरतपुले पाहुन टोली मोतिहारी एफसी, भारतलाई ९–० को फराकिलो अन्तरले हरायो । भरतपुरको जितमा राज भुषालले दोहोरो ह्याट्रिक गरे । भुषालले पहिलो हाफको २८, ३८ र अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यस्तै भुषालले दोस्रो हाफ शुरु भएको दोस्रो मिनट, ५७ र ६५औं मिनटमा थप तीन गोल गर्दैै दोहोरो ह्याट्रिक पूरा गरे । त्यस्तै रन्जित आलेले १६ र ३३औं मिनटमा थप दुई गोल गर्दा अर्को एक गोल ६३औं मिनटमा रोशन क्षेत्रीले गरेका थिए ।

खेलमा दोहोरो ह्याट्रिक जमाएका राज भुषाल म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । यो जितसँगै आयोजक भरतपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत भदौ २६ गतेको खेल मकवानपुर–११ र नव जनजागृति युवा क्लब, सिमरा बीच हुने खेल संयोजक ध्रुव भुषालले जानकारी दिए ।

केबिए ग्लोबल भरतपुर एफसी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपापाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

Post Comments