News नव जनजागृति क्वाटरफाइनलमा
गोलनेपाल

चितवन । नव जनजागृति युवा क्लब, सिमरा यहाँ जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ नव जनजागृतिले मकवानपुर–११ लाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

क्याम्पाचौरमा सम्पन्न खेलमा नव जनजागृतिका लागि विवेक चौधरीले १७औं र २४औं मिनटमा लगातार दुई गोल गर्न सफल भएका थिए । यद्यपि दोस्रो हाफतर्फ ४७औं मिनटमा सुजन गुरुङले गोल गर्दै मकवानपुरलाई खेलमा फर्काउन प्रयास गरे तर सफल भएनन् ।

उता ७०औं मिनटमा सृजन गौतमले नव जनजागृतिका लागि तेस्रो गोल गर्दै मकवानपुरलाई निराश तुल्याएका थिए । खेलमा दुई गोल गरेका नव जनजागृतिका विवेक चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत भदौ २७ गते सोमाबरको पहिलो क्वाटरफाइनल खेल मनाङ फुटबल क्लब, काठमाडौं र बागमती नगरपालिका, सर्लाहीबीच हुने आयोजकले जानकारी दियो ।

केबिए ग्लोबल भरतपुर एफसी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

Post Comments