News चितवन गोल्डकपको च्याम्पियन आर्मी
गोलनेपाल

चितवन । यहाँ सम्पन्न इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । फाइनलमा आर्मीले अर्को विभागीय टोली एपिएफ फुटबल क्लबलाई २–० ले हराउँदै च्याम्पियन बनेको हो ।

क्याम्पाचौर खेलमैदानमा सम्पन्न खेलमा आर्मीका लागि दुवै गोल सुदिल राईले गरे । दुवै गोल उनले दोस्रो हाफमा गरेका थिए । दोस्रो हाफ शुरु भएको तेस्रो मिनट मै सुदिलले आर्मीका लागि गोलको खाता खोले । त्यस्तै अन्तिमतिर थप एक गोल गर्दै उनले आर्मीलाई उपाधि जिताउन निर्णायक भूमिका समेत खेले ।

फाइनल खेलमा निर्णायक बनेका आर्मीका सुदिल राई नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । विजेता बनेको आर्मीले उपाधिसहित नगद ७ लाख हात पार्यो भने उपविजेता एपिएफले ३ लाख ५० हजारमा चित्त बुझायो ।

एपिएफका हरि कार्की प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यस्तै प्रतियोगिताभरि सात गोल गरेका आयोजक केबिए ग्लोबल भरतपुर फुटबल क्लबका राज भुसाल सर्वाधिक गोलकर्ता बने । आर्मीका विश्वास चौधरी उत्कृष्ट गोलरक्षक घोषित भए । उनीहरुले जनही नगद २०–२० हजार रुपैयाँ प्राप्त गरे ।

केबिए ग्लोबल भरतपुर फुटबल क्लब, चितवनको आयोजनामा सम्पन्न प्रतियोगितामा दुई ए डिभिजन र दुई विदेशी गरी कुल १० टोलीहरुले सहभागीता जनाएका थिए । 

Post Comments