News उपमेयर कप राष्ट्रिय महिला लिगको सबै तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

चन्द्रपुर । रौतहटको चन्द्रपुरमा हुन गईरहेको चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । रौतहट जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वय र ब्यबस्थापनमा हुन गईरहेको प्रतियोगिता चन्द्रपुर–६ स्थित शेर बहादुर दर्लामी स्मृती हातेमालो खेल मैदानमा हुनेछ ।

चन्द्रपुर नगरपालिकाको संरक्षकत्व तथा सहयोगमा यहि माघ १० गते देखि १८ गते सम्म एन्फाद्वारा छनौटमा परेका उत्कृष्ट ८ नगरपालिकाहरुको महिला फुटबल टिमले प्रतियोगितामा सहभागिता जनाउने रौतहट फुटबल संघका महासचिब मधुसुदन धितालले बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा बाह्रबिसे नगरपालिका र विदुर नगरपालिका भिड्ने छन् । त्यस्तै सोही दिन दोस्रो खेलमा चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका आमने सामने हुनेछन् ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागि आठ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको समूह ए मा बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक, विदुर नगरपालिका नुवाकोट, चन्द्रपुर नगरापालिका रौतहट र चौदण्डीगढी नगरपालिका उदयपुर रहेका छन् । त्यस्तै समूह बी तर्फ वालिङ नगरपालिका स्याङ्जा, बाँसगढी नगरपालिका बर्दिया, बिराटनगर महानगरपालिका, मोरङ र विरेन्द्रनगर नगरापलिका सुर्खेत रहेका छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही ५०–५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट खेलाडीहरुलाई जनही १५–१५ हजार नगद र ट्रफी प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्ने प्रतियोगिता संयोजक नेपाल कार्कीले जानकारी दिए ।

Post Comments