News थप तीन खेलाडीको गन्तव्य बन्यो अष्ट्रेलिया
गोलनेपाल

काठमाडौं । घरेलु फुटबलमा सुनिश्चित भविष्य नदेखेपछि नेपालका लागि आशा लाग्दा युवा खेलाडीहरु पनि विदेश पलायन हुन थालेका छन् । यहि सूचीमा थपिएका छन् शिव गुरुङ, आकाश बुढा मगर र रेजिन सुब्बा ।

शिव र आकाशले केही महिना अघि मात्रै नेपालका लागि डेब्यु गरेका थिए । रक्षापंक्तिका शिव र मिडफिल्डर आकाश दुवै क्षमतावान युवा खेलाडीका रुपमा दरिएका थिए । यद्यपि यी दुवै खेलाडी अष्ट्रेलियालाई नै आफ्नो गन्तव्य बनाएका छन् ।

त्यस्तै शिव र आकाश कै बाटो पछ्याउँदै अर्का प्रतिभावान खेलाडी रेजिन सुब्बा पनि अष्ट्रेलिया हानिएका छन् । नेपालका लागि विभिन्न उमेर समूह हुँदै यु–२३ टोलीमा समेत आफ्नो खुबी देखाईसकेका रेजिनले पनि अष्ट्रेलियालाई नै रोजे ।

अग्रपंक्तिमा खेल्ने रेजिनले उमेर समूहमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै आईरहेका थिए । राष्ट्रिय टोलीमा हालसम्म पर्न नसके पनि उनको प्रदर्शन प्रशंसनीय नै थियो । उनले नेपालका लागि साफ यु–१८ च्याम्पियनसिप पनि जितेका थिए ।

यी तीन खेलाडीहरु पनि अष्ट्रेलिया पलायन भएपछि त्यहाँ जाने नेपाली खेलाडीहरुको सूची थप लम्बिएको छ । यसअघि केही साता अघि मात्र अमिर श्रेष्ठ, राजन गुरुङ, रोहित कार्की, रुमेश बर्तौला, नविन गुरुङ जस्ता राम्रा खेलाडीहरु पनि अष्ट्रेलिया उडेका थिए ।

त्यति मात्र नभएर सन्तोष तामाङ, आशिष लामा जस्ता खेलाडीहरु पनि केही महिना मात्रै अष्ट्रेलिया पुगेका थिए । घरेलु फुटबलमा हाल शिर्ष फुटबल गतिविधी ठप्प जस्तै भएपछि र हुनसक्ने महत्वपूर्ण प्रतियोगिताहरु पनि आयोजना अनिश्चित भएपछि धेरै खेलाडीहरु अहिले विदेश पलायन कै बाटो रोजिरहेका छन् ।

Post Comments