News संकटाको जित, आर्मी रोकियो
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार दावेदार मानिएको नेपाल आर्मी क्लब बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा भएको पहिलो खेलमा आर्मीले न्युरोडटिम (एनआरटी) सँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

यो बराबरी नतिजासँगै आर्मीले लिगतालिकामा स्पष्ट ३ अंकको अग्रता बनाउनबाट समेत चुकेको छ । यो नतिजापछि ८ खेलबाट १७ अंक जोडेको आर्मी शिर्ष स्थानमा यथावत छ । १६ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ भने समान अंक भए तापनि गोल भिन्नताका आधारमा डिफेन्डिङ तेस्रो स्थानमा छ ।

उता आर्मीलाई शनिबार बराबरीमा रोक्न सफल भएको एनआरटी भने १२ अंकका साथ पाँचौं स्थानमा छ । खेलमा एनआरटीका गोलरक्षक अजित प्रजापति म्यान अफ द म्याच घोषित भए ।

संकटालाई सफलता

त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा संकटा क्लबले फ्रेण्डस क्लबलाई १–० को झिनो अन्तरले हराउन सफल भएको छ । संकटाको जितमा अजयी मार्टिन्स निर्णायक रहे ।

दोस्रो हाफको ६४औं मिनटमा सुवास गुरुङको फ्रिकिकलाई सदुपयोग गर्दै मार्टिन्सले हेडद्वारा एक मात्र निर्णायक गोल गरे । यो जितपछि संकटाको १२ अंक भएको छ । पराजित फ्रेण्डसको भने ८ अंक छ र रेलिगेशन क्षेत्रको टोली सरस्वती भन्दा ७ अंकले माथि छ ।

खेलमा संकटा क्लबका लक्ष्मण रुचाल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी प्राप्त गरे ।

Post Comments