News ११औं बन्देवीमाई गोल्डकप शुरु, बिरगंजको विजयी शुरुवात
गोलनेपाल

बटेश्वर । यहाँ शुरु ११औं बन्देवीमाई गोल्डकप नकआउट फुटबल प्रतियोगितामा बिरगंज युनाइटेड, पर्साले विजयी शुरुवात गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा बिरगंजले जन सेवी युवा क्लब, महोत्तरीलाई टाईब्रेकरमा ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघिको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको सातौं मिनटमा पेपेको गोलबाट जनसेवीले अग्रता बनाएको थियो । २४औं मिनटमा बिलेले त्यो अग्रता दोब्बर पारे । तर बिरगंजले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो ।

३२औं मिनटमा युवराज खड्काले बिरगंजका लागि पहिलो गोल फर्काए । त्यसको दुई मिनट लगतै सिर्जनराज गौतमले दोस्रो गोल गर्दै खेललाई २–२ गोलको रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा जनसेवीका लागि रुपक लामाले मात्र गोल गर्न सके । प्रदिप लामा र रोशन पहारीको प्रहार विपक्षी गोलरक्षकले जोगाएका थिए भने बिलेको प्रहार पोष्ट बाहिरिएको थियो । उता बिरगंजका लागि सिर्जनराज गौतमको प्रहार मात्र बाहिरियो । श्याम चौधरी, अनिष चौधरी र युवराज खड्काले भने आ–आफ्नो प्रहारलाई गोलमा परिणत गरेका थिए ।

खेलमा बिरगंजका दिलमणि चौधरी म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २ हजार हात पारे । यो जितसँगै बिरगंज प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत कार्तिक ९ गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक बन्देवीमाई युवा क्लब, धनुषा र हरिवन युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जानकारी दियो ।

बनदेवी युवा क्लब, बटेश्वर, धनुषाको आयोजनामा जारी तथा बटेश्वर गाउँपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक १७ गतेका दिन हुनेछ ।

Post Comments