News फराकिलो जितका साथ चन्द्रपुर सेमिफाइनलमा
गोलनेपाल

रौतहट । घरेलु टोली चन्द्रपुर नगरपालिका, रौतहट जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए मा रहेको चन्द्रपुरले समूह चरणतर्फको दोस्रो खेलमा विदुर नगरपालिका, नुवाकोटलाई ६–० को फराकिलो अन्तरले हरायो । आइतबार पहिलो हाफसम्म १–० को अग्रता बनाएको चन्द्रपुरले दोस्रो हाफमा गोल वर्षा गरेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा रोजिना श्रेष्ठको गोलबाट चन्द्रपुरले खेलमा शुरुवाती अग्रता बनाएको थियो । मेनुका आलेले ५२औं मिनटमा त्यो अग्रता दोब्बर पारीन् भने लगतै ५७औं मिनटमा रजनी थोकरले घरेलु टोलीका लागि तेस्रो गोल गरिन् ।

खेलमा एकपक्षीय नतिजा निकालेको चन्द्रपुरका लागि अस्मिता बैद्यले ६७ र ८०औं मिनटमा लगातार दुई गोल गर्दा अन्तिमतिर इन्जुरी समयमा रेनुका नगरकोटीले छैटौं गोल गर्दै घरेलु टोलीको फराकिलो जित पक्का गरिन् ।

खेलको वुमन अफ द म्याच चन्द्रपुर कै अस्मिता वैद्य घोषित भईन् । स्मरण रहोस, चन्द्रपुरले समूह चरणको आफ्नो पहिलो खेलमा चौदण्डीगढी नगरपालिकालाई ३–० ले हराएको थियो ।

त्यस्तै आइतबार नै भएको अर्को खेलमा चौदण्डीगढी नगरपालिका, उदयपुर र बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोकलले ३–३ गोलको रोमाञ्चक बराबरी खेले । खेलमा बाह्रबिसेकी अनु राई वुमन अफ द म्याच घोषित भईन् ।

Post Comments