News मंसिर २१ गतेदेखि एनी बिर्तामोड युनाइटेड च्यालेन्ज कप हुने
रमेश समदर्शी

मंसिर तेस्रो सातादेखि एनी बिर्तामोड युनाइटेड इन्डो नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक बिर्तामोड युनाइटेड एफसीले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंसिर २१ देखि २८ गतेसम्म हुने प्रतियोगिता भारतको १ सहित ८ वटा टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष भुपेन लिम्बूले जानकारी दिए । उनका अनुसार उद्घाटन खेल भारतको जक्सन स्टार एफसीले काठमाडौँको सुनाकोठी सिटीसँग खेल्ने छ ।

यस्तै, आयोजक क्लबले सुनसरीको पाञ्चायन एफसी, मोरङको डाँगीहाट एफसीले इलामको रेडहर्ष एफसीसँग र धरान सिटी एफसीले पकलीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको तयारी ८० प्रतिशत पूरा भएको बताउँदै आयोजकका सचिव सन्तोष राईले झापाली खेलाडीलाई प्रोत्साहन गर्दै फुटबल खेलको गतिविधिलाई चलायनमान बनाउन प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २२२ र ट्रफी पाउनेछ भने उपविजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ । यस्तै, विभिन्न विधाका विजेताले जनही नगद ५ हजार पाउँदा उत्कृष्ट खेलाडीले १५ हजार र उदीयमान खेलाडीले पनि १५ हजार पाउने क्लबका सहकोषाध्यक्ष योगेश गुरुङले बताए ।

उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न ७० प्रतिशत रकम विदेशमा भएका पूर्व खेलाडी तथा शुभेच्छुकहरुले सहयोग गरेका छन् । यस्तै, स्थानीय दाता र प्रायोजकका तर्फबाट ३० प्रतिशत रकम जुटाइने भएको छ ।

प्रतियोगितालाई झापाली ब्राण्ड एनी स्पोर्टस्ले प्रायोजन गरेको छ । एनी स्पोर्टस्ले प्रथम पुरस्कार प्रदान गर्ने एनीका सञ्चालक सन्तोष थोप्राले जानकारी दिए । उनका अनुसार आयोजक टिमलाई एक सेट जर्सी र बल ब्वाइका लागि पनि जर्सी उपलब्ध गराइने भएको छ । आयोजक क्लबका उपाध्यक्ष रमेश गुरुङका अनुसार क्लबले प्रतियोगिताबाट बचत गरेको रकमको केही अंश क्लबका खेलाडी तथा मिर्गौला पीडित समुन्द्र माझीको उपचारमा खर्च गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले प्रतियोगिता आयोजनाले खेलाडीमा उत्साह मिलेको बताउँदै आगामी संस्करण वार्षिक तालिका सार्वजनिक गरेर आयोजना गर्न सकेको खण्डमा थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

Post Comments