News उद्घाटन खेलमै सुनाकोठी काठमाडौँको गोल वर्षा
रमेश समदर्शी

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबारदेखि सुरु बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कप फुटबलमा काठमाडौँको सुनाकोठी सिटी एफसीले गोल वर्षा गरेको छ ।

सुनाकोठीले भारत सिलिगुडीको जक्सन स्टार एफसीको गोल पोस्टमा ६-० गोल गर्दै सेमिफाइनल प्रवेश गरेको हो । सुनाकोठीले पहिलो हाफमै ३-० गोलको अग्रता कायम राखेको थियो ।

खेलको २ मिनेटमै सुनाकोठीका रेजिन सुब्बाले गोल गर्दै खाता खोलेका थिए । त्यस्तै, खेलको १० मिनेटमा हिसुब थपलियाले गोल गर्दै अग्रता दिलाए भने २५औँ मिनेटमा शिशिर लेखीले थप गोल गरेर ३-० गोलको अन्तर निकाले ।

एकोहोरो दबाब सिर्जना गरेको सुनाकोठीकै शिशिर लेखीले ७१औँ मिनेटमा गोल गर्दै व्यक्तिगत दोस्रो गोल गरे भने ७५औँ मिनेटमा रिजन मगर र ७८औँ मिनेटमा सविन मगरले गोल गरेर ६-० गोलको फराकिलो अन्तर निकाले ।

खेलका म्यान अफ दी म्याच सुनाकोठीका शिशिर लखी घोषित भए । उनलाई मुख्य प्रायोजक एनीका सञ्चालक सन्तोष थोप्राले नगद २ हजार ५ सय प्रदान गरे । भोलि (बिहीबार) आयोजक बिर्तामोड युनाइटेड एफसीले सुनसरीको पाञ्चायन एफसीसँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।

मंसिर २८ गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले नगद १ लाख ११ हजार र ट्रफीमा चित्त बुझाउनेछ । व्यक्तिगत विधाका खेलाडीले जनही नगद ५ हजार पाउँदा उत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छ ।

आयोजक क्लबका अध्यक्ष भुपेन लिम्बूको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतराको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा आयोजक क्लबका सचिव सन्तोष राईले स्वागत गरेका थिए ।
 
Post Comments