News आयोजक बिर्तामोड सेमिफाइनलमा
रमेश समदर्शी

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबारदेखि सुरु बिर्तामोड युनाइटेड इण्डो नेपाल च्यालेन्ज कप फुटबलमा आयोजक विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सुनसरीको पाञ्चायन एफसीलाई ४-२ गोलअन्तरले पराजित गर्दै आयोजक बिर्तामोड युनाइटेड एफसी अन्तिम चारमा प्रवेश गरेको हो । आयोजकका लागि अभिषेक गुरुङले २ गोल गरे भने पुजन उपरकोटी र खमिर गिल्सन कन्दङ्वाले १-१ गोल गरे । 

सुनसरीका लागि असिम राई र उमेश राईले १-१ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच आयोजक बिर्तामोडका लागि अभिषेक गुरुङ घोषित भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे । शुक्रबार इलामको रेडहर्ष एफसी र मोरङको डाँगीहाट एफसीबीच खेल हुनेछ । 

मंसिर २८ गते हुने फाइनल खेलको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले नगद १ लाख ११ हजार र ट्रफीमा चित्त बुझाउनेछ । व्यक्तिगत विधाका खेलाडीले जनही नगद ५ हजार पाउँदा उत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छ । खेल बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।

Post Comments