News डिफेन्डिङ च्याम्पियन बिराटनगर स्तब्ध
गोलनेपाल

रौतहट । उपाधि जोगाउने अभियानमा रहेको साविक विजेता बिराटनगर महानगरपालिकाले जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा पहिलो हार बेहोरेको छ ।

समूह बी मा रहेको बिराटनगरले आफ्नो पहिलो खेलमा बिरेन्द्रनगर नगरपालिका, सुर्खेतलाई हराए तापनि सोमबार भएको समूह चरणको दोस्रो खेलमा वालिङ नगरपालिका, स्याङ्जासँग २–० ले स्तब्धपुर्ण हार बेहोर्न पुग्यो ।

स्याङ्जाको जितमा खेलको ३९औं मिनटमा अमिषा कार्कीले पहिलो गोल गरेकी थिईन् । त्यस्तै ७०औं मिनटमा उदया थापाले दोस्रो गोल गर्दै टोलीलाई महत्वपुर्ण जित दिलाउन सफल भएकी थिईन् ।

खेलको वुमन अफ द म्याच वालिङ कै शुरुवाती गोलकर्ता अमिषा कार्की घोषित भईन् ।

बाँसगढीको पनि पहिलो जित

उता समूह बी कै अर्को खेलमा बाँसगढी नगरपालिका, बर्दियाले पनि पहिलो जित हात पार्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश सम्भावना कायम राख्यो । चन्द्रपुर–६ रौतहट स्थित शेर बहादुर दर्लामी स्मृति खेलमैदानमा भएको खेलमा बाँसगढीले बिरेन्द्रनगर नगरपालिकालाई ३–१ ले हरायो ।

बाँसगढीको जितमा अजिता घर्ती मगर, सुस्मिता चौधरी र अन्जली खवासले गोल गरिन् । उता पराजित बिरेन्द्रनगरका लागि करिश्मा रोकायाले एक मात्र सान्त्वना गोल फर्काईन् ।

खेलमा बाँसगढीकी सुस्मिता चौधरी वुमन अफ द म्याच घोषित भईन् । सोमबारको यो नतिजापछि प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको बिरेन्द्रको चुनौति समूह चरणबाटै समाप्त भएको छ ।

Post Comments