News मच्छिन्द्रको लिग उपाधि होड कायमै
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ पहिलो लिग उपाधि जित्ने योजनामा रहेको मच्छिन्द्र क्लबले बलियो प्रतिद्वन्द्वी थ्रीस्टारमाथि जित दर्ता गरेको छ ।

सोमबार दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले थ्रीस्टारमाथि २–० को जित दर्ता गर्यो । मच्छिन्द्रका लागि ३८औं मिनटमा रेजिन सुब्बाले पहिलो गोल गरे ।

त्यस्तै खेलको अन्तिमतिर बिशाल राई बी ले दोस्रो गोल गर्दै मच्छिन्द्रकाले जित पक्का गरे । यो जितपछि मच्छिन्द्र ९ खेलबाट १९ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको ।

१७ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ र आर्मीले एक खेल कम खेलेको छ । उता पराजित थ्रीस्टार भने १४ अंकका साथ पाँचौं स्थानमा झरेको छ ।

पुलिसलाई पनि सफलता

सोमबार नै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपिएफ क्लबलाई १–० ले हराएको थियो । पुलिसका लागि भोला सिलवालले पेनाल्टीबाट एक मात्र निर्णायक गोल गरेका थिए ।

त्यो नतिजापछि १४ अंक जोडेको पुलिसले समान अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा थ्रीस्टारलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । उता पराजित एपिएफ भने ५ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

Post Comments