News बिपी स्मृति सेमिफाइनलमा
सुरज राना मगर

बर्दघाट । बिपी स्मृति क्लब यहाँ जारी प्रथम भैरव कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा बिपी स्मृतिले फोर ब्रदर्श एफसीलाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयतर्फ दुवै टोलीले गोलका राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्दा खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । खेलमा बिपी स्मृतिका गोलरक्षक राहुल मुखिया म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत मंसिर २७ गते मंगलबारको खेल अल स्टार क्लब, तनहुँ र ३९ जिटीसी क्लब, भारतबीच हुने आयोजक भैरव स्पोर्टस क्लबका अध्यक्ष अन्जन अधिकारीले जानकारी दिए । आउँदो पुष २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्ने समेत अध्यक्ष अधिकारीले बताए ।

Post Comments