News मोनालिसालाई कृपा फुटसल कपको उपाधि
गोलनेपाल

सैनामैना । यहाँ सम्पन्न कृपा फुटसल कपको उपाधि मोनालिसा फुटसलले जितेको छ । सैनामैना नगरपालिका–३ मुर्गिया स्थित भर्खरै खुलेको कृपा फुटसलमा सम्पन्न फाइनल भिडन्तमा मोनालिसाले इन्टर स्पोर्टसलाई ४–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

विजेता बनेको मोनालिसा फुटसलले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता इन्टर स्पोर्टसले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । मोनालिसाका समिर दगामी सर्वोत्कृष्ट खेलाडी चुनिए भने उत्कृष्ट गोलरक्षक इन्टर स्पोर्टसका दिलिप क्षेत्री बने । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार भने रेशम थापाले हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, कृपा फुटसलका संचालक नरेश पुन लगायतले पुरस्कृत गरेका थिए । संचालक नरेश पुनले सैनामैना मै पहिलो फुटसल खोल्न सफल आफूले यस क्षेत्रका सबैलाई फुटसल खेलमा अभिप्रेरित गराउन र स्वच्छ प्रतिस्पर्धा गराउन उद्देश्य लिएको बताए ।

मुर्गिया फुटबल क्लबको विशेष सहयोगमा सम्पन्न भएको प्रतियोगितामा कुल २० टोलीहरुले सहभागिता जनाएको प्रतियोगिता संयोजक राकेश गुरुङले जानकारी दिए ।

Post Comments