News भद्रपुर गोल्डकप फागुन महिनामा आयोजना हुने
रमेश समदर्शी

ओझेलमा पर्दै गइरहेको मेची रंगशालालाई पुनर्जीवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन हुने भएको छ ।

भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलो पटक ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा भद्रपुर गोल्डकप सञ्चालन गर्न लागिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिएका छन् ।  

नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको भद्रपुर गोल्डकपलाई कसरी सफलतापूर्वक आयोजना गर्ने विषयमा सोमबार बिहान नगरपालिकामा सर्वपक्षीय छलफल गरिएको थियो । सो छलफलबाट युवा उद्योगी दिपेश ढकालको अध्यक्षतामा भद्रपुर गोल्डकप मूल आयोजक समिति गठन गरिएको छ ।   समितिको वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा टहलदास मैनाली, कोषाध्यक्षमा गणेश राजभण्डारी र सहकोषाध्यक्षमा अजय साहेवाला निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरूमा कुमार श्रेष्ठ, अनिल सुब्बा, योगेन्द्र पौडेल, पुनम सुब्बा, कविता गुरुङ, दिलिप भुइमाली, टेकमान गुरुङ र गम्भीर राई चयन भएका छन् ।  

त्यस्तै सल्लाहकार समितिमा ओमप्रकाश सरावगी, चण्डीराज ढकाल, विज्ञानराज शर्मा, टिकाराज ढकाल, विनोद बस्नेत, विमल आचार्य, केशवराज पाण्डे, दिनबन्धु गोयल, बसन्त बानिया, धर्म शिवाकोटी, प्रशान्त भण्डारी, यामबहादुर श्रेष्ठ र नवराज पनेरु रहेका छन् ।  

भद्रपुर ८ स्थित सदरमुकामको मुटुमा रहेको मेची रंगशालामा पहिला जिल्लास्तरीय ठूला प्रतियोगिता हुने गरेको थियो । ‘पछिल्लो समयमा जिल्लामा हुने ठूला प्रतियोगिताहरू अन्यत्र सार्न थालेपछि सरकारी स्वामित्वमा रहेको रंगशालालाई ओझेलमा पार्ने काम गरियो,’ नगर प्रमुख पोखरेलले भने, ‘ रंगशालालाई पुनर्जीवन दिने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको हो ।’  

यस गोल्डकपले नगरमा फुटबल खेलाडी उत्पादनलाई समेत प्रोत्साहन गर्ने उनको भनाइ छ । नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपसहित खेलकुद क्षेत्रका लागि ४० लाख बजेट छट्याएको छ । गोल्डकपका लागि त्यसबाट कति बजेट निकासा गर्ने त्यो कार्यपालिका बैठकले निर्णय गर्ने जनाइएको छ ।  

एन्फासँग स्वीकृति लिएर गोल्डकप सञ्चालन गर्नुपर्ने भएकोले सम्भवतः फागुन महिनाभित्र प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष ढकालले जानकारी दिए ।

Post Comments