News लिगमा सरस्वतीको पहिलो जित
गोलनेपाल

काठमाडौं । यस सिजन जितविहीन रहेको सरस्वती युथ क्लबले कतार एयरवेज ए डिभिजन लिगतर्फ मंगलबार आफ्नो पहिलो जित दर्ता गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ ले हराउँदै रोमाञ्चक र महत्वपुर्ण जित हात पारेको हो ।

खेलको शुरुवाती दश मिनट नाटकीय रह्यो । पाँचौं मिनटमै काजिम बुशारीको गोलबाट सरस्वतीले खेलमा अप्रत्याशित अग्रता बनाएको थियो । तर लगतै १०औं मिनटमा आशिष गुरुङले शेर्पाका लागि बराबरी गोल फर्काए ।

तर पहिलो हाफ कै ३५औं मिनटमा बिनोद केसीले सरस्वतीलाई फेरि खेलमा अग्रता दिलाए । तर, सरस्वतीको त्यो अग्रता फेरि पनि टिक्न सकेन । ४५औं मिनटमा बिजय श्रेष्ठले शेर्पाका लागि दोस्रो गोल गर्दै पहिलो हाफसम्म दुवै टोली २–२ को बराबरीमा रहे ।

खेल फेरि अन्तिमतिर नाटकीय बन्यो । ८४औं मिनटमा सरस्वतीका लागि काजिश बुशारीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरे । तर, त्यसको पाँच मिनट बित्न नपाउँदै ८८औं मिनटमा शेर्पाका लागि मनिष थापाले तेस्रो गोल गरेपछि खेल ३–३ को रोमाञ्चक बराबरीमा पुग्यो ।

यद्यपि इन्जुरी समयको ९३औं मिनटमा रबि थापाले सरस्वतीका लागि फ्रिकिकबाट सुन्दर गोल गर्दै टोलीलाई लिगमा पहिलो जित दिलाए । यो जितपछि ९ खेलबाट ४ अंक जोडेको सरस्वती पुछार मै छ । उता पराजित शेर्पा भने ७ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ ।

Post Comments