News आयोजक नमूना उपाधि नजिक
रमेश समदर्शी

झापा । आयोजक नमुना एफसी झापाको अर्जुनधारामा जारी दोस्रो नमुना च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । एन्फा एकाडेमी धरानलाई पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो ।

अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा धरानलाई २-० गोलअन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो । आयोजकका लागि दुवै गोल देवेन्द्र तामाङले गरेका हुन् । 

दुवै टोलीले पहिलो गोलरहित बराबरी खेलेका थिए । १७ वर्षमुनि रहेका एन्फा एकाडेमीका खेलाडीले आयोजकलाई चुनौती प्रस्तुत गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा आयोजकका पुजन उपरकोटीले मिलाइदिएको पासमा देवेन्द्र तामाङले गोल गरेर अग्रता दिलाए । उनले खेलको ६८औँ मिनेटमा गोल गरेका हुन् ।

धरानका खेलाडीले थुप्रै अवसर खेर फालेका थिए । धरानका खेलाडीको प्रहार रोक्न आयोजकका गोलरक्षक मनोज प्रधानलाई हम्मे हम्मे परेको थियो । उनीहरुको प्रहारले गोलपोस्टको दिशा लिन नसक्दा समर्थक निरश बन्न पुगेका थिए । 

खेल सकिन २ मिनेट बाँकी रहँदा फेरि देवेन्द्र तामाङले नै गोल गरेर अग्रता दोब्बर बनाए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद २ हजार प्रदान गरियो । 

भोलि ललितपुरको सुनाकोठी सिटी एफसीले पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकासँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले नगद ५१ हजार १११ सहित ट्रफी पाउने छ ।

Post Comments