News एपिएफ, पकली सेमिफाइनलमा
गोलनेपाल

कनकाई । एपिएफ, पकली यहाँ जारी हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा रोलिङ क्लब, धुलाबारीलाई ४–२ ले हराउँदै एपिएफ अन्तिम चारमा प्रवेश गरेको हो ।

कनकाई २ स्थित जामुनखाडी प्राकृतिक रंगशालमा भएको खेलको पहिलो हाफतर्फ २२औं मिनटमा पुजन राईको गोलबाट रोलिङले खेलमा अग्रता बनाएको थियो । यद्यपि ३२औं मिनटमा एपिएफका लागि शिशिर लेखीले बराबरी गोल फर्काएका थिए ।

त्यस्तै दोस्रो हाफको २६औं मिनटमा रोलिङले निरज कार्कीको गोलबाट फेरि खेलमा अग्रता बनायो । तर एपिएफका लागि अरबिन्द चौधरी नायक बने । उनले दोस्रो हाफको २७, २९ र ३८औं मिनटमा लगातार तीन गोल गर्दै ह्याट्रिक मात्र पूरा गरेनन्, एपिएफलाई रोमाञ्चक जित पनि दिलाए ।

ह्याट्रिक गरेका एपिएफ पकलीका अरविन्द चौधरी म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तरगत पुष ५ गतेको चौथो क्वाटरफाइनल खेल पथरी फुटबल क्लब र शनिश्चरे फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

जामुनखाडी स्र्पोटिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि पुष ९ गतेका दिन हुनेछ ।

Post Comments