News पुरस्कार रकमबारे धरान एफसीको स्पष्टीकरण
गोलनेपाल

धरान । तीन वर्ष अघि बुढासुब्बा गोल्डकपको २२औं संस्करणको फाइनल जितेको मनाङ मस्र्याङ्दी क्लबले उपाधि रकम अहिलेसम्म नपाएको कुरा बाहिरिएपछि त्यसले नेपाली फुटबलमा अर्को तरंग उत्पन्न गरेको छ ।

२०७६ सालको फागुन १० देखि १७ गतेसम्म धरानमा सम्पन्न बुढासुब्बा गोल्डकप जिते वापत मनाङले उपाधि रकम ७ लाख पाउनुपर्ने थियो । तर त्यो रकम आयोजक धरान फुटबल क्लबले अहिलेसम्म उपलब्ध नगराएपछि मनाङले एन्फासमक्ष पत्रसहित उजुरी गरेको थियो ।

पत्रमा मनाङले पुरस्कार रकम नपाउँदासम्म यहि पौष १४ गतेदेखि पोखरामा शुरु हुन गईरहेको प्रतिष्ठित २२औं आहा! रारा पोखरा गोल्डकपमा धरान एफसीलाई खेल्नबाट रोक लगाउन एन्फासमक्ष माग गरेको थियो । धरानले पोखरा गोल्डकपको उद्घाटन खेल मै आयोजक सहारा क्लब, पोखरासँग खेल्ने कार्यक्रम छ ।

धरान एफसीको स्पष्टीकरण

मनाङले पुरस्कार रकमबारे पत्र एन्फामा बुझाएसँगै र यसबारे सञ्चारमाध्यमहरुमा खबर प्रकाशित भएसँगै बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबले स्पष्टीकरण दिएको छ । धरान एफसीका अनुसार प्रतियोगिता आयोजना वापत आफूहरुले पाउनुपर्ने रकम संकलन नभए कै कारण पुरस्कार रकम दिनमा ढिलाई भएको बताएको छ ।

धरान एफसीका अनुसार २२औं बुढासुब्बा गोल्डकप आयोजना गर्दा तत्कालिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सरकारले १० लाख र राखेपले ५ लाख दिने घोषणा भएको थियो । यद्यपि त्यो रकम भुक्तानीमा ढिलाई भएपछि पुरस्कार रकम वितरणमा पनि ढिलाई भएको आयोजक धरान एफसीको भनाई छ ।

त्यस्तै कोभिड–१९ महामारी, निर्वाचन लगायत विविध कारणले रकम संकलनमा ढिलाई भएको धरान एफसीका अध्यक्ष किशोर राईले बताएका छन् । विभिन्न प्रायोजकहरुबाट उठाउनु पर्ने रकम पनि उठाउन नसकिएकोले पुरस्कार वितरण गर्न ढिलाई भएको अध्यक्ष राईले बताए ।

अध्यक्ष राईका अनुसार आफूहरुले २३औं बुढासुब्बा गोल्डकप आयोजना गर्ने तयारीमा रहेको बताउँदै गत संस्करणको पुरस्कार रकम छिटै सम्बन्धित क्लबलाई दिने पनि स्पष्ट पारे । मनाङलाई केही समय मै दिन बाँकी रहेको पुरस्कार रकम उपलब्ध गराउने आयोजक धरान एफसीले जनाएको छ ।

त्यस्तै २२औं बुढासुब्बा गोल्डकपको फाइनलमा मनाङसँग ३–१ ले पराजित उपविजेता नेपाल पुलिस क्लबलाई पनि छिटै पुरस्कार दिने आयोजक धरान एफसीले जनाएको छ । साथै बुढासुब्बा गोल्डकपको २३औं संस्करण पनि यसै वर्ष आयोजना गर्ने तयारीमा आफूहरु रहेको पनि धरान एफसीले बताएको छ ।

 

Post Comments