News सहलेशलाई फाइनल पुर्याउन मार्टिन निर्णायक
रमेश समदर्शी

दमक । सहलेश युवा क्लब, सिराहा यहाँ जारी प्रथम जय हुमागाई मेमोरियल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो प्रतिस्पर्धात्मक सेमिफायनल खेलमा सहलेशले एभनिर एफसी, क्यामरुनलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

बेलडागी फुटबल मैदानमा सम्पन्न खेलको दोस्रो हाफतर्फ सातौं मिनटमा अजयी मार्टिनले गरेको एक मात्र गोल सहलेशलाई फाइनल पुर्याउन निर्णायक बन्यो । खेलमा प्रतियोगिता कै सर्वाधिक पहेंलो कार्ड प्रयोग भएको थियो । रेफ्रीले सहलेश र एभनिरका चार–चार खेलाडीहरुलाई पहेंलो कार्ड देखाएका थिए ।

खेलमा सहलेशका गोलरक्षक पुजन होना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल प्राप्त गरे । प्रतियोगिता अन्तरगत पौष ११ गते सोमबारको दोस्रो सेमिफाइनल खेल बि.वाई.एस.सी., अमेरिका र शान्तिनगर फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

स्व.जय हुमागाई फेमिली एण्ड ट्रष्टको आयोजना तथा बिवाइसी, झापाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष १३ गतेका दिन हुनेछ ।

Post Comments