News बीवाइएससीलाई जय हुमागाई मेमोरयल गोल्डकपको उपाधि
रमेश समदर्शी

दमक । यहाँ सम्पन्न प्रथम जय हुमागाई मेमोरियल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि पाहुना टोली बीवाइएससी, अमेरिकाले जितेको छ ।

बुधबार सम्पन्न फाइनल भिडन्तमा बीवाइएससीले सहलेश युवा क्लब, सिराहालाई शून्यका विरुद्ध १ गोलले हराउँदै च्याम्पियन बनेको हो । बेलडाँगी फुटबल मैदानमा भएको खेलको ३६औं मिनटमा मिगुल प्लाटाफोक्सले गरेको एक मात्र गोल अमेरिकी टोलीलाई उपाधि जिताउन निर्णायक बन्यो ।

निर्णायक गोलकर्ता मिगुल फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल प्राप्त गरे । विजेता बनेको बीवाइएससीले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता सहलेशले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक बीवाइएससीका पुजन थापा मगर घोषित भए । उत्कृष्ट डिफेन्डर सहलेशका पिटर सेगुन चुनिए । उत्कृष्ट मिडफिल्डर पनि सहलेशका आशालाल चौधरी घोषित भए । उत्कृष्ट फरवार्ड भने बीवाइएससीका थोम बने । उत्कृष्ट प्रशिक्षक पनि बीवाइएससीका प्रदिप हुमागाई चुनिए ।

उदीयमान खेलाडी बीवाइएससी कै दावा तामाङ घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ७–७ हजार र ट्रफी हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार भने बीवाइएससीका रेने सान्टिलोनले हात पारे । त्यसवापत उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि बीवाइएससी कै हेक्टर ओरेटेगा घोषित भए । त्यसवापत उनले नगद २५ हजार र ट्रफी प्राप्त गरे । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का सांसद होम बहादुर थापा लगायतले पुरस्कृत गरे ।

स्व.जय हुमागाई फेमिली एण्ड ट्रष्ट, अमेरिकाको आयोजना तथा बीवाइसी, झापाको संयोजनमा पौष ६ गतेदेखि शुरु प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments