News तेस्रो सुस्ता अध्यक्ष कप माघ १० देखि
सुरज राना मगर

नर्सही । सुस्ता गाउँपालिका, नवलपरासीको आयोजनामा यहि माघ १० गतेदेखि तेस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आयोजना गर्नका लागि आवश्यक तयारी पनि शुरु गरिएको खेल संयोजक समराज गुरुङले जानकारी दिए ।

सुस्ता–४, नर्सही स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताका लागि मिलाउने, प्रायोजक खोज्ने, प्रचार प्रसार गर्ने लगायतका आवश्यक कामहरु पनि शुरु गरिएको संयोजक गुरुङले बताए । यो प्रतियोगिता समग्र सुस्ता गाउँपालिका कै पहिचानका रुपमा स्थापित भएको बताउँदै उनले प्रतियोगितालाई यसपटक पनि भव्य रुपमा सम्पन्न गर्ने जानकारी दिए ।

सुस्ता गाउँपालिका, नवलपरासी संरक्षक समेत रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक समराज गुरुङले जानकारी दिए ।

त्यसैगरी प्रतियोगितामा सहभागिता जनाउने टिमहरुको अहिले नै टुंगो नलागेको संयोजक गुरुङले बताए । यद्यपि प्रतियोगितामा यसपटक पनि मोफसलका सफल क्लब र उत्कृष्ट खेलाडीहरुको सहभागित रहने दावी गरे ।

स्मरण रहोस, प्रतियोगिताको गत संस्करणको उपाधि अभिषेक चर्च, रजहरले जितेको थियो ।

Post Comments