
बसही । सहज जित हात पार्दै न्यु हिउचुली युथ क्लब, बोहिया जारी पाँचौं सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ न्यु हिउचुलीले घरेलु टोली सरावल नगरपालिका, नवलपरासीलाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
सरावल–१ स्थित बसही रंगशालामा भएको खेलमा न्यु हिउचुलीका लागि हिमाल थापाले ह्याट्रिक गरे । उनले एक गोल पेनाल्टीबाट गरेका थिए । त्यस्तै थप एक गोल नयन पुनले गरे । उता पराजित सरावलका लागि शिव चौधरीले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
खेलमा न्यू हिउचुलीका जिवन छन्त्याल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष २१ गते बिहीबारको खेल अलपत्र गाईज, नवलपरासी र अरुणखोला युनाइटेड, नवलपुरबीच हुने आयोजकले जानकारी दियो ।
सरावल गाउँपालिकाको आयोजना तथा श्री बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजना र व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल पौष ३० गतेका दिन हुनेछ ।