News उत्कृष्ट जितका साथ फोर ब्रदर्श सेमिफाइनलमा
सुरज राना मगर

बसही । फागुराम चौधरीले ह्याट्रिक गरेको खेलमा उत्कृष्ट जित निकाल्दै फोर ब्रदर्श एफसी, नवलपरासी यहाँ जारी पाँचौं सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बसही रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा फोर ब्रदर्शले अरुणखोला युनाइटेड एफसी, नवलपुरलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

फोर ब्रदर्शको जितमा फागुराम चौधरीले ह्याट्रिक गरे । त्यस्तै सदिप केसी र अरुण चौधरीले थप एक–एक गोल गरे । उता खेलमा अरुणखोलाले पनि गोल फर्काउने अवसर पाएको थियो । दोस्रो हाफको अन्तिमतिर पाएको पेनाल्टीलाई अरुणखोलाका विपीन उप्रेतीले गोलमा परिणत गर्न सकेनन् ।

खेलमा ह्याट्रिक गरेका फोर ब्रदर्शका फागुराम चौधरी म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष २४ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल अभिषेक चर्च, रजहर र कञ्चन–११, रुपन्देहीबीच हुने आयोजकले जानकारी दियो ।

सरावल गाउँपालिकाको आयोजना तथा श्री बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजना र व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल पौष ३० गतेका दिन हुनेछ ।

Post Comments