News पाँचौं टुबोर्ग आङ्गबुरा कप महिला फुटबल प्रतियोगिता शुरु, सक्रियको विजयी शुरुवात
गोलनेपाल

धर्मदेवी । पाँचौं टुबोर्ग आङ्गबुरा कप सेभेन ए साईड महिला फुटबल प्रतियोगितामा सक्रिय क्लब, डाँडागाउँले विजयी शुरुवात गरेको छ । धर्मदेवी नगरपालिका–७ स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा सक्रियले आयोजक न्यु युवा क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेलको तेस्रो मिनट मै तिर्थ कुमारी लिम्बुको गोलबाट सक्रियले खेलमा अग्रता लिएको थियो । तर १३औं मिनटमा पुजा रानाले आयोजकका लागि बराबरी गोल फर्काईन् । त्यस्तै दोस्रो हाफको २१औं मिनटमा बन्दना याक्खाले सक्रियका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित पक्का गरिन् ।

यो जितसँगै सक्रिय फाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगितामा कुल ४ महिला क्लबहरुले मात्र सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तरगत पौष २७ गतेको दोस्रो सेमिफाइनल खेल न्यू सयपत्री युवा क्लब र याक्खा चौक युवा क्लबबीच हुने खेल संयोजक फणिन्द्र गिरीले जानकारी दिए ।

माघ १ गतेसम्म चल्ने महिला फुटबल प्रतियोगितातर्फको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १२ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments