News बिशाल पनि मच्छिन्द्र मै रहने पक्का
गोलनेपाल

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबका अनुभवी गोलरक्षक बिशाल श्रेष्ठले क्लबसँग नयाँ सिजनका लागि आफ्नो सम्झौता नवीकरण गरेका छन् । बिशालले गत साता सम्पन्न २२औं आहा! रारा पोखरा गोल्डकपमा मच्छिन्द्र कै लागि खेलेका थिए । त्यतिबेला नै उनी नयाँ सिजनका लागि मच्छिन्द्र मै रहने अड्कल काटिएको थियो ।

पछिल्लो सिजन मच्छिन्द्रलाई लगातार दोस्रोपटक ए डिभिजन लिग च्याम्पियन बनाउन बिशालको प्रदर्शन र योगदान पनि महत्वपूर्ण रहेको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका बिशाल मच्छिन्द्रको पहिलो रोजाई कै गोलरक्षक समेत हुन् ।

स्मरणीय छ, मच्छिन्द्रले कप्तान सुजल श्रेष्ठ, बिमल घर्ती मगर, देवेन्द्र तामाङ जस्ता अन्य चर्चित र अनुभवी खेलाडीहरुसँगको सम्झौता पनि नवीकरण गरिसकेको छ । त्यसवाहेक राष्ट्रिय फुटबल टोलीका अन्य दुई सदस्य पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई पनि नयाँ सिजनका लागि अनुवन्ध गरिसकेको छ ।

एन्फाले आउँदो फागुन १९ गतेदेखि शहिद स्मारक ए डिभिजन लिग आयोजना गर्ने घोषणा गरिसकेको छ । यसपटक लिग डबल राउण्ड रोबिनमा हुने पनि एन्फाले जनाएको छ ।

Post Comments