News अभिषेक चर्च पाँचौं सरावल अध्यक्ष कपको फाइनलमा
सुरज राना मगर

बसही । अभिषेक चर्च, रजहर यहाँ जारी पाँचौं सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा नेपालगञ्ज–११ लाई टाईब्रेकरमा ४–३ ले हराउँदै अभिषेक चर्च उपाधि नजिक पुगेको हो ।

सरावल–१ स्थित बसही रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनुपरेको थियो । टाईब्रेकरमा अभिषेक चर्चले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा अभिषेक चर्च दोस्रो हाफतर्फ दश खेलाडीमा सिमित बनेको थियो । अभिषेक चर्चका गोलरक्षक आदित गुरुङले विपक्षी खेलाडीलाई बल जेगाउने प्रयासमा बक्स बाहिर फल गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड देखाएका थिए । यद्यपि दश खेलाडीमा खुम्चिएर पनि अभिषेक चर्चले पेनाल्टीमा जित निकाल्यो ।

खेलमा अभिषेक चर्चका तेजेन्द्र चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष २८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल राष्ट्रिय युवा संघ, नवलपरासी र फोर ब्रदर्श एफसी, नवलपरासी बीच हुने आयोजकले जानकारी दियो ।

सरावल गाउँपालिकाको आयोजना तथा श्री बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजना र व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल पौष ३० गतेका दिन हुनेछ ।

Post Comments