News खाँदबारी आङ्गबुरा कपको सेमिफाइनलमा, मिरमिरे र चेवाको पनि जित
गोलनेपाल

धर्मदेवी । प्रभावशाली जितका साथ खाँदबारी युथ क्लब यहाँ जारी टुबोर्ग पाँचौं आङ्गबुरा कप सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धर्मदेवी नगरपालिका–७ स्थित स्थानीय खेलमैदानमा भएको क्वाटरफाइनल खेलतर्फ खाँदबारीले किरनज्योति युथ क्लबलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । खाँदबारीको जितमा दिनेश मगरले दुई गोल गरे भने थप एक गोल किमोहाङ राईले गरे । खेलमा समिर मगर म्यान अफ द म्याच चुनिए ।

त्यस्तै अर्कोे खेलमा मिरमिरे युवा क्लबले धर्मदेवी युथ क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो । मिरमिरेका लागि अनिल जिमीले दुई गोल गरे भने बादल जिमी, प्रज्वल जिमी र शेखर जिमीले एक–एक गोल गरे । खेलमा शेखर जिमी म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी दिनको अर्को खेलमा चेवा सामुदायिक विकास क्लबले सयपत्री युथ क्लबमाथि ४–० को सहज जित निकाल्यो । चेवाका लागि दिपेश गुरुङ, सबिन पोख्रेल, दिवस श्रेष्ठ र नवल तामाङले गोल गरे । खेलमा दिवस श्रेष्ठ म्यान अफ द म्याच चुनिए । यो जितसँगै चेवा सामुदायिक विकास क्लब क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

न्यु युवा क्लब, धर्मदेवी नगरपालिका–७, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।

Post Comments