News इराक, कतार, बहराईन र ओमान सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । इराकमा जारी प्रतिष्ठित २५औं गल्फ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक इराक, साविक विजेता बहराईनसँगै कतार र ओमान प्रवेश गरेका छन् ।

समूह ए बाट इराक र ओमान तथा समूह बी बाट बहराईन र कतार अन्तिम चारमा प्रवेश गरेका हुन् । समूह ए तर्फको अन्तिम खेलहरुमा इराकले यमनमाथि ५–० को जित निकाल्दा ओमानले बलियो साउदी अरबलाई २–१ ले हरायो ।

समूह ए बाट समान ७–७ अंक जोडेका आयोजक इराक राम्रो गोल भिन्नताका आधारमा समूह विजेता बन्दा ओमान उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । ३ अंक जोडेको साउदी र अंकविहीन यमन क्रमशः तेस्रो स्थान र समूहको पुछारमा रहेर समूह चरणबाटै बाहिरिए ।

त्यस्तै समूह बी तर्फको अन्तिम खेलहरुमा बहराईनले कुवेतसँग र कतारले युएईसँग समान १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । अन्तिम खेलहरुको नतिजा पश्चात् ३ खेलबाट ७ अंक जोडेको बहराईन समूह विजेता बन्यो भने ४ अंक जोडेको कतार समूह उपविजेता बन्यो ।

समूह बी तर्फ कतारसँगै समान ४ अंक जोडे तापनि कुवेत गोलभिन्नताका आधारमा पछि पर्दै तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरियो । समूह बी मा १ अंक मात्र जोडेको युएई पुछारमा रहेर समूह चरणबाट बाहिरियो ।

सेमिफाइनलतर्फ अब आयोजक इराकले कतारसँग खेल्नेछ भने बहराईनले ओमानको सामना गर्नेछ । दुवै खेलहरु सोमबार इराकी शहर बसरा स्थित बसरा इन्टरनेशनल स्टेडियममा हुनेछन् ।

फाइनल खेल भने जनवरी १९ तारीख (बिहीबार) का दिन हुनेछ । फाइनल पनि बसरा स्टेडियम मै हुनेछ ।

 

Post Comments