News दोश्रो हिरा डाँगी स्मृति कप फागुन पहिलो सातादेखि
सुरज राना मगर

तुलसीपुर । हिरा डाँगी फाउण्डेशन, तुलसीपुर–५, दाङको आयोजनामा आउँदो फागुन २ देखि ८ गतेसम्म दोश्रो हिरा डाँगी स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजनालाई निरन्तरता दिइएको आयोजकले बतायो ।

२०७६ साल चैत ३ गतेका दिन ज्यान गुमाएका फुटबलका होनहार खेलाडी हिरा डाँगीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हिरा डाँगी फाउण्डेसनका सचिव केशव चौधरी (मिग्मा) ले जानकारी दिए । प्रतियोगितालाई आगामी दिनमा गोल्डकप को रुपमा लैजाने फाउण्डेसनका योजना रहेको उनले बताए ।

प्रतियोगितामा छिमेकी राष्ट्र भारतको साहारा क्लब, लखनऊ, जिल्ला भन्दा बाहिरको एक क्लब र जिल्ला भित्रका ६ क्लब गरी कुल ८ टोलीहरुको सहभागिता रहने पनि सचिव चौधरीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

स्मरण रहोस, फाउन्डेसनले आफ्नो स्थापनाकालदेखि नै दाङ जिल्लाको शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

Post Comments