News स्याङ्जाली फुटबललाई जिवन्त बनाउँदै 'वालिङ गोल्डकप'
सुरज राना मगर

वालिङ । “प्रतियोगिता आयोजनाले समग्र स्याङ्जाली फुटबलको परिचय मात्र होईन आउने युवा पुस्तालाई फुटबलमा लाग्न प्रेरित गर्ने बलियो माध्यम पनि बन्नेछ वालिङ गोल्डकप ।” यो भनाई नेपालको घरेलु फुटबलमा आफूलाई स्थापित गरिसकेका वालिङका राष्ट्रिय खेलाडी लक्ष्मण रुचालले केही महिना अघि वालिङ गोल्डकपको आयोजनाबारे आफ्नो अवधारणा राख्ने क्रममा अभिव्यक्त गरेका थिए ।

गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा पर्ने पहाडको काखमा अवस्थित मनोरम वालिङ नगर त्यसै पनि नेपाली फुटबलका लागि उर्बर भूमिका रुपमा परिचित छ । स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु जन्माईसकेको वालिङसँग नेपाली फुटबलको साईनो पनि आत्मिय र पुरानो छ ।

यही वालिङ नगरमा अहिले पहिलोपटक (पौष ३० देखि माघ ७ गतेसम्म) वालिङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना भईरहेकोछ । वालिङ नगरपालिका वार्ड नम्बर ८ स्थित वालिङ रंगशालामा गोल्डकप सञ्चालन भईरहँदा यसले स्याङ्जाली फुटबललाई पनि चलायमान बनाईरहेको आभाष दिईरहेको छ ।

हुन त केही महिना अघि मात्र राष्ट्रिय खेलकुद अन्तरगत महिला फुटबलतर्फको राष्ट्रिय प्रतियोगिता वालिङ नगरले सोही मैदानमा सफलताका साथ आयोजना गरिसकेको थियो । जसको मुख्य रुपमा समन्वय र व्यवस्थापन हाल जारी वालिङ गोल्डकप कै आयोजकले गरेको थियो । अर्थात् वालिङ युनाइटेड फुटबल क्लब, वालिङ, स्याङ्जा कै मुख्य भूमिका थियो ।

“नेपाली फुटबलप्रतिको जिम्मेवारी कै कारण राष्ट्रिय खेलकुदतर्फ महिला फुटबल प्रतियोगितामा हामीले सहकार्य र सहयोग मात्र गरेका हौं । तर, यो वालिङ गोल्डकप हाम्रो वर्षैदेखिको परिकल्पना थियो । जसलाई हामी यसपटक साकार पार्न सफल भयौं । यो हाम्रा लागि अझै विशेष छ ।” वालिङ गोल्डकपका प्रतियोगिता संयोजक केशर थापा यसबारे अझ प्रष्ट पार्छन् ।

संयोजक थापाका अनुसार वालिङ गोल्डकप आयोजना गर्नु नै एउटा चुनौति थियो । यो चुनौतिलाई सहज स्वीकार गरी अगाडी बढ्न स्याङ्जाली फुटबललाई माया गर्ने सबैको साथ, सहयोग, शुभेच्छाकै कारण सम्भव पनि भयो । संयोजक थापा अगाडी भन्छन्, “हामीले प्रतियोगिता आयोजनाबारे परिकल्पना गरेका थियौं । जसलाई फुटबल बुझ्ने सबैले साथ दिए ।”

प्रतियोगिता आयोजनाले वालिङ नगर मात्र नभई सिङ्गो स्याङ्जाली फुटबललाई सबै सामू चिनाउन सहयोग पुग्ने विश्वास र आशा नेपालका अर्का अन्तर्राष्ट्रिय खेलाडी तथा वालिङे स्टार सुवास गुरुङले लिएका छन् । उनी भन्छन्, “फुटबलमा एउटा परिचय मलाई वालिङले दियो । अब फुटबलको माध्यमबाट गृहनगर वालिङको परिचय दिने प्रयास हाम्रो । प्रतियोगिता आयोजनाले हामी जति खुशी छौं, त्यति उत्साहित पनि छौं ।”

नेपाली फुटबलका सफलतम क्लबहरु मध्ये एक मनाङ मस्र्याङ्दी, संकटा जस्ता क्लबहरुबाट आफूलाई व्यवसायीक फुटबलमा अभ्यस्त बनाईसकेका सुवासले वालिङ गोल्डकप कै कारण आउने दिनहरुमा स्याङ्जाली फुटबलको महौल र अवस्था सुदृढ र फरक हुने बताए ।

स्याङ्जा जिल्लामा फुटबल गतिविधी त्यति सक्रिय नभए पनि क्षमतावान र अब्बल खेलाडीहरु भने प्रशस्त छन् । हिमालयन शेर्पा, न्युरोडटिम (एनआरटी), संकटा क्लबमा व्यवसायीक फुटबलको अनुभव सँगालेका र विभिन्न उमेर समूहमा रहेर अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गरेका लक्ष्मण रुचाल वालिङ नगर र समस्त स्याङ्जा जिल्लाको फुटबलप्रति आफू सधै गम्भिर रहेको बताउँछन् ।

रुचालका अनुसार यहाँ युवा खेलाडीहरुलाई राम्रो प्लेटफर्म दिने र सही बाटोमा लाग्न आफूले सकेको प्रयास र पहल गरेको बताउँछन् । उनी भन्छन्, “युवापिंढीहरुका लागि फुटबलप्रति सधै सोंचमग्न हुन्थे तर वालिङ र समग्र स्याङ्जालाई चिनाउने एउटा प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने अठोट पनि थियो । यसबारे सबैसँग कुरा राख्ने र योजना बनाउने काम पनि गरें ।”

आफूहरुको त्यो अठोट र योजनाले अन्तिम रुप लिंदा लक्ष्मण जस्तै वालिङमा फुटबल बुझ्नेहरु सबै दंग छन् र खुशी पनि । वालिङ रंगशाला निर्माण गर्दा स्थानीय तहको सहयोगमा लाखौं खर्चेर दिनरात, घामपानी नभनी अहोरात्र खटिएको क्षणहरु मनमस्तिष्कमा ताजै रहेको पनि रुचाल सम्झिन्छन् । “हामीले दुःख गरे पनि आउने पुस्तालाई राम्रो होला नि ।” यसो भनिरहँदा लक्ष्मणको भावमा आशाका किरणहरु पनि झल्किन्थे ।

नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा राम्रो नाम, सफलता र चर्चा बटुलेका विश्वास श्रेष्ठ, राजाबाबु थापा, राजन गुरुङ, टिकाराज गुरुङ, क्षितिजराज जिटी, बिशु थापा, सुरज हमाल जस्ता खेलाडीहरु छन् । जो कोही घरेलु फुटबल मै रमाईरहेका छन्, कोही वैदेशिक भूमिमा । तर उनीहरुको घरेलु फुटबलप्रतिको आशय र उद्देश्य एउटै छ, ‘वालिङ गोल्डकपको आयोजनाले स्याङ्जाली फुटबल जिवन्त बनोस र भव्य बनोस ।’

Post Comments