News ठमेल भेट्रान सेमिफाइनलमा प्रवेश
उमेश पुन

पोखरा । ठमेल भेट्रान, काठमाडौं यहाँ जारी प्रथम हिमालय ब्रुअरी प्रा.लि. तथा १२औं बगर भाई खलक भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ठमेल भेट्रानले आयोजक बगर भाई खलकलाई पेनाल्टी शुटआउटमा २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बगर भाई खलकका लागि राजु तामाङले गोल गरेका थिए भने ठमेल भेट्रानका लागि सागर थापाले गोल गरेका थिए ।

त्यस्तै अर्को खेलमा दिप युनाइटेडले युके मास्टर्स, देहरादुन, भारतलाई २–१ ले हरायो । दिप युनाइटेडका लागि बिजय राई र गंगा बहादुर तामाङले गोल गरे । उता युके मास्टर्सका लागि अन्तिम गुरुङले एक मात्र गोल फर्काएका थिए ।

त्यसैगरी बुटवल भेट्रानले लेकसाईड भेट्रानलाई शून्यका विरुद्ध १ गोलले हरायो । बुटवल भेट्रानका लागि नर कुमार मगरले एक मात्र गोल गरे । चौथो खेलमा चितवन भेट्रानले जोरपाटी भेट्रानलाई ३–१ ले हरायो । चितवनका लागि रबिन्द्र कुमार श्रेष्ठ, सुरेन्द्र चौधरी र हर्कराज गुरुङले एक–एक गोल गरे । जोरपाटीका लागि बिकास राईले एक मात्र सान्त्वना गोल फर्काए ।

त्यस्तै अर्को खेलमा हेटौडा भेट्रानले फ्रिडम फाईटर बी टिमलाई १–० ले पराजित गर्यो । हेटौडाका लागि शुलभजंग राणाले एक मात्र गोल गरे । त्यस्तै पश्चिम चितवन भेट्रानले गार्डेन एफसीलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । थापागाउँ भेट्रानले नागसोती भेट्रानलाई १–० पराजित गर्दा फ्रिडम फाईटर ए ले सानो गौचरन भेट्रानलाई ३–१ ले निराश तुल्यायो ।

बगर भाई खलक, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यही माघ ८ गतेका दिन हुनेछ ।

Post Comments